निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् ।
बिस्मात् ! आधा रातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तद्वन्द्व चलेको हिजो साँझदेखि नै । कसैगरी छोड्नु छ उसले ओछ्यान । जीवनसाथी सपना देखिरहेछ सधैँझै ।
लोग्नेको भारी हात पन्छाउँदै उठ्छे ।
निर्दयी प्रकृति ! “कस्तो हुरी चलेको ! खालबाट रित्तिएर निस्किएको जुवाडेको पर्याय हुनुपर्छ “- मनमनै भन्छे । त्यसपछि सरलाले झ्यालबाहिर चिहाई । मुसलधारे पानी पर्छजस्तो छ आकाश हेर्दा । खडेरी परेर केहीमा प्राण छैन । जीवन चाहिएको छ सबलाई ।
घरको कुकुर पनि अचम्मको निद्रा निदाएछ । पत्तै पाएन । सधैँ पाइला चलाउन हँुदैनथ्यो धुरुक्क पार्थ्यो पछ्याएर ।
“कस्तो बेइमानको हावा ! बारुदी पर्खाल भत्काएर आगो सल्काउन हान्निएको हुँदो हो ।” फलामे गेट खोल्न हम्मेहम्मे पर्छ । काँचका चुरा पहिरिएका हातहरू सायद शक्तिहीन भए अब ।
क्षणक्षणमा यस घरमा आफ्नो औचित्य छैन भन्ने नलागेको होइन । बाध्य छ । मूलगेट नै नखुलेपछि के गरोस् ? ऊ यहाँ छे तर अरूका लागि । उतार-चढाव धेरै भए । बेला-बेलामा खण्डहर जीवनको अनुभूति नभएको पनि होइन । परिवर्तनको पर्खाइ थियो उसलाई तर परिवर्तन भएन केही । आत्मासम्मानलाई मण्डीवाला भाउ दियो त्यस लोग्नेमान्छेले । आफ्नो भने हीरामोतीको भाउ तोक्यो जुन कहिल्यै घटेन । दिनानुदिन बढिरहृयो ।
दैनिकी छ उसको- चिया उमाल्नु । मिनेटको फरक नपारी डाइनिङ टेबल व्यञ्जनाले भर्नु । पाइन्टको धार लाग्ने खुकुरी बराबर पार्नु । दाह्री काट्ने रेजरदेखि मोजासम्म हत्केलामा थमाइदिनु । उसका आफन्त-इष्टमित्रसँगको सम्बन्ध दुरुस्त राख्नु । साथसाथै जागिरे दैनिकीलाई पूरा गर्नु तर पनि त्यो लोग्नेमान्छेले असन्तुष्टि दर्शाउन आजसम्म छोडेको छैन । मानौँ उसले जिन्दगी यसरी नै टुङ्ग्याउने सम्झौतापत्रमा हस्ताक्षर गरेकी छे ।
आँधी रोकिने छाँट छैन । बढ्दो छ । घण्टाघरले मध्यरातको घण्टी बजाइसक्यो । हतारिन्छे ऊ । उता आकाशमा गड्याङ्गगुडुङ्ग सुरु भो । बिजुली चम्कियो । मूलगेटको ढोका खोल्न सक्ने अवस्था झट्टै छैन ।
“हरे ! यो घरको अधिनायक ब्यूँझियो भने ……?” अदृश्य अल्पबिराम खोज्दैछे ऊ । त्यसैले भयभित हुनु परिरहेछ । डरैडरमा बाँच्न बाध्य भएको अनुभूति भएकै हो सधैँ पनि । एक्ली छ र एक्लो छ परिवेश । साथीसङ्गी कहाँ गए, के थाहा उसलाई । मन साट्न पाउँदिन । भेटिएका केही पनि लोग्नेको विश्लेषणमा अपाच्य भए । छोडिदिई उसले सब ।
तर एकाएक मनले उसलाई घच्घच्यायो । धुमिल दृश्यले केही भनेर गयो । मस्तिष्कका रेसारेसामा त्यही आवाजको अनुगुञ्जन छ । अन्त्य खोज्नु छ त्यसको ।
पानी दर्किन सुरु भो मुसलधारे । क्षणमै भिजेर निथ्रुक्क भइसकी ऊ । पछाडिबाट ठूलै आवाज आयो । पक्कै बडेमानको वस्तु फुटेको हुनुपर्छ । यता बेस्सरी अठ्याएर राखेजस्तो भइराखेको छ गेटको फलामे साङ्गलो । जति हतारिए पनि, जति बल गरे पनि खोलिँदैन । कसरी निस्कनु उसले ?
“कोठाको झ्याल फुटेर बर्बाद छ भित्र, यहाँ भने मूलगेटमा केको धन्दा हो ?” लोग्ने रिसाउँदै निस्कियो ।
“सत्यानाश होस् ।” सरला आत्तिन्छे ।
“निद्रा सब चौपट भो । ख्याल गर्नुपर्छ नि कहाँ के भइराखेको छ ।” ऊ बर्बराउँछ ।
“हैन कत्तिबेर लगाई राखेको ?” भन्ने बित्तिकै हुनुपर्ने आदत लागेको छ त्यसलाई ।
तर ऊ पुनः पछाडि फर्किन चाहन्न । दृढता हो । निस्किसकेकी छ ऊ ।
निद्रा र ब्यूँझाइको यार्सागुम्बा भएर त्यो नजिकै आइपुगेको छ । सरलालाई थाहा छ ।
“सिसा छरिएर ओछ्यानभरि छ । फटाफट हटाइदेउ ।” आदेश दिन्छ र भित्रिन्छ कोठामा ।
आदेश मान्न मन छैन । घृणा लाग्छ । जीवनसाथी हो तर मात्र आदेश दिन्छ । त्यसैले त उसलाई न जीवन छ, न त साथी नै । सुझाव दिँदैन, धम्की दिन्छ । गल्ती त त्यो पण्डितको हो । बाबुआमालाई घण्टौँ पानी खन्याउन लगायो मन्त्र पढीपढी । दान गरेको भन्ने स्पष्ट पारिदियो । किन नदियोस् त आदेश ! दानमा पाएको वस्तु मेहनतले कमाएको ऐश्वर्यजस्तो कहाँ हुन्छ ?
कसलाई थाहा ? सम्झौता थियो त्यो उसको । आमाबाबुको संस्कारसँग मानसिकतासँग अनि समाजको ढोँगी संयन्त्रसँग । के खराबी थियो उसको रोजाइमा ? केही थिएन । मानेनन् स्वीकार्न कसैले । झोली भिरेर आयो अरे । झोले देशका मान्छेले झोला नभिरेर के भिर्ने त ? फर्काइदिए । त्यो फर्कियो लाचार बनेर । उसले केवल हेरिरही । पीडा छ आजसम्म । आफूले नरोजेको मान्छे । कस्तो-कस्तो हीनताबोध हुँदाहँुदै जिम्मा लगाएर पठाए । एकपटक सोद्धासम्म सोधेनन् । म्यारिनियोटलाई जस्तो ओल्टाई-पल्टाई सिँगारे अनि थुम्थुम्याउँदै पठाए । बैरी परेछ यो विद्वान् ! परिस्थिति स्वीकार्न कहिल्यै सिकाएन । स्नेह, कोमलता र सहनशीलता केही सिकाएन । कसरी सक्नु बिर्सन ? त्यो त शान्त थियो बढेमानको बुद्धजस्तो ।
“आधा रातसम्म बाहिरै बस्नुपर्ने कारण ?” पुनः बाहिरिन्छ र जवाफ तेस्र्याउँछ ।
जिन्दगीसँग हरेक प्रश्नको जवाफ हुँदैन । कैयौँ प्रश्नहरू नाजवाफ हुन्छन् । कैयौँ प्रश्नका जवाफ भावनामा खोज्नुपर्ने हुन्छ तर त्यो भाव जान्दैन या जानाजान हरेक प्रश्नको मौखिक जवाफ चाहन्छ ? सरलालाई थाहा छैन ।
“कारण, म गणतन्त्रको खुसियाली मनाउने तर्खरमा छु ।” बेतुकको जवाफ दिन्छे । हो नि त ! मुलुकमा गणतन्त्र भर्खरै आएको छ । खुसियाली ढिलोचाँडो सबैले मनाउन पाउँछन् । यसमा अस्वाभाविक के छ त ? ऊ पनि आफ्नै पाराले गणतन्त्रको खुसियाली मनाउँदै छ ।
त्यो हाँस्छ बेसुरले लामो गरेर । उद्दण्ड हाँसो, उपहासको हाँसो ।
“गणतन्त्र पुरानो भइसक्यो । यो कस्तो बासी खुसियाली ? मेरी श्रीमती …..गणतन्त्र……खुसियाली .. ! हा..हा… त्यो हाँसिरहन्छ ।
“राष्ट्रपति ! प्रथम महिला राष्ट्रपति ! सपना बन्नु रातभर । छिटो सुत्ने अनि भावी राष्ट्रपतिको सपना देख्ने ।” व्यङ्ग्य गर्छ ।
“ढोँगी घटिया हाँसो हाँस्छ ममाथि । दाम्लोले बाँधेको पशु सम्झदो हो ।” क्रुद्ध हुन्छे ऊ ।
‘यो राष्ट्रपतिको अर्थ परिवर्तन हो । अझ यो त पहिलो र ऐतिहासिक राष्ट्रपति ! यसले जागरण र स्वतन्त्रतालाई जनताबीच उजागर गरेको छ । बुझ्न सक्नुपर्छ परिवर्तन । मुलुकले अधिनायकवादबाट छुटकारा पायो । घर-घरभित्रको अधिनायकवाद किन ? समानतामा झर्नुपर्छ यो अधिनायकत्वले पनि ।’ मनोवाद गर्छे सरला ।
पानी रोकिएको छैन । बादल मडारिँदो छ । निष्पट्ट अँध्यारो छ । बिजुली चम्कन्छ उसै गरी घरिघरि ।
“साँच्चै प्रथम महिला राष्ट्रपति भए तिमी भने के गर्छौ ?” सरला त्यसलाई प्रश्न गर्छे ।
ठिङ्ग उभिएको छ सामुन्ने । अन्धकारमा हेर्दा बुख्याँचाजस्तै देखिएको छ त्यो । डरलाग्दो ! भागिहालौँजस्तो लाग्छ सरलालाई ।
“यो मध्यरातमा बेतुकका तर्क गर्ने फुर्सद छैन मेरो । ऊ अनि प्रथम महिला राष्ट्रपति …….” फेरि बेजोडको हाँसो हाँस्छ त्यो ।
“कुनै पनि परिवर्तनको शङ्खनाद यस्तै मध्यरातमा, अन्धकारमा, कुनाकाप्चाबाट, अप्ठ्याराहरूबाट नै हुने गर्छ ।” ऊ तर्क अघि सार्छे ।
“राष्ट्रपति हुनेले नेतृत्व गर्न सक्नुपर्छ । त्याग गर्नु पर्यो, बाधा-बन्धन तोड्नु पर्यो, जेलनेल थेग्न सक्नु पर्यो । अझ मुख्य त असमानताको पर्खाल भत्काएर सम्याउने हिम्मत गर्नु पर्यो ।” मजाकमा व्याख्या गर्छ त्यसले ।
“ठीक भन्यौ । मध्यरातमै भए पनि तिमीले पहिलोपटक केही त ठीक भन्यौ । वास्तवमै, त्याग गर्नुपर्छ । असमानता भत्काएर सम्याउन सक्नुपर्छ । ठीक भन्यौ ।” आवेगमा बोल्छे ऊ ।
भिक्षुणी बन्न निस्किएकी । अचानक आदेश, प्रश्न, राष्ट्रपति, जवाफ, आँधीबेहरीको जमघट । अपत्यारिलो सङ्गम । क्षीण भएको विश्वास, आँट, आत्मविश्वासको प्रत्यारोपण । घात गरेर सम्भिmरहेकी थिई त्यसैलाई । त्यो बढेमानको बुद्धलाई । घिनलाग्दै थियो आफ्नै आकृति एकैछिन अघिसम्म । मिराकल भइरहेछ खुलेआम आँखा अगाडि । हृयारीपोर्टरको जादुको छडी पर्दामा चाख मानीमानी हेरेको हिजै त हो । यहाँ पनि जादु भइरहेछ । कहीँ यतै कतै हृयारीपोर्टर छडी घुमाउँदैछ ।
सरला आँखा फर्काउँछे । त्यो ठिङ्ग खडा छ । दरबारको ढोकाजस्तो ।
“राष्ट्रपति हुने पहिलो कदम म यहीँबाट सुरु गर्दैछु । तिम्रो सामुन्नेबाट । यही मध्यरातमा यो मूलगेट खोलेर म निस्कँदैछु । आन्दोलन गर्नुछ । हर दैलोबाट एकएक कार्यकर्ता निकाल्नु छ । धुरीहरूमा आगो बालेर सडक तताउनु छ । विद्रोह मध्यरातमै हुन्छ । हर गल्लीगल्लीहरूमा विद्रोह भइरहेको हुनुपर्छ । पक्कै पनि ।” ऊ केही बोलेर मूलगेटतिर हानिन्छे ।
त्यसलेे हस्पिटलको इमर्जेन्सीलाई फोन घुमाउँछ- ‘मानसिक समस्या, आउट अफ कन्ट्रोल……।’
सुनसान छन् गल्लीहरू । विद्रोह टरिसक्यो वा विद्रोहलाई दबाइयो ? या कफ्र्यु जारी गरियो ? यसै भन्न सक्ने स्थिति छैन । एकोहोरो भुस्याहा कुकुरहरू भुकिराखेका छन् । चिसो पस्छ मनमा ।
“ए सेठकी छोरी ! तेरो बाउ कति पानीमाथि छ, मलाई थाहा छ । तेरो नपुङ्सक विद्या भोलि बिहान तेरै विद्यार्थीलाई सुनाउनु ।” लरबराएको आवाज छ त्यसको । पिएको हँुदो हो । जवाफमा सँुक्कसँुक्क मात्र सुनिन्छ ।
अर्को एक विद्रोहको विजारोपण हो यो । एक, दुई, तीन दिनमै नभए पनि तीन सय पैँसठी दिनभित्रमा कसै गरी छेडिने विद्रोह हो यो । किनकि लोग्नेमान्छेमा एक, दुईले मात्र आत्मा आलोचना गर्न सिकेको हुन्छ ।
ऊ पाइला सारिरहेकी छ । बुद्धलाई भेट्नु छ उसले । उसको बुद्ध । कतै एकान्तमा आलङ्कारिक भइरहेको हुँदो हो । सधैँ सभ्य र आलङ्कारिक कुरा गर्थ्यो ।
छेउबाट किचौलाजस्तो गरी गाडी हुँइकिन्छ र सडक किनारामा रोकिन्छ । नारी आकृति उत्रिन्छे । पुरुषजस्तो लाग्ने आकृति गाडीभित्रैबाट वकालत गरिरहेको देखिन्छ ।
“पाएको वस्तु प्रयोग गरेको हो मैले । घरमा स्वास्नी छ । छोराछोरी छन् । जति भेटिए त्यत्तिलाई भित्र्याउन सक्ने न घर छ मेरो, न त देशको कानुन । एक वर्षको सम्बन्ध कम रोमाञ्चक रहेन । धन्यवाद ! बाटोमा अर्को राजकुमार पक्कै भेटिनेछ ।” एकै सासमा वाक्यांश बोल्छ र फरार हुन्छ दोषी ।
यौवना एकोहोरिन्छे सडक मध्यको सालिक भएर ।
“मूर्ख ! एकैचोटि दुई-दुई विद्रोहको बिज रोपेर गयो ।” सरलालाई विद्रोहै-विद्रोहको झुण्ड चाहिएको छ । यो सब सकारात्मक छ । नेतृत्व चाहिएको छ यी सबलाई । अदृश्य ढाडस दिने शक्ति चाहिएको छ ।
यी गल्लीहरू सधैँ उसले बिहानीमा मात्रै हिँडेकी । थाहा थिएन रातमा कस्तो बाँच्छ भनेर । निरस-निरस लाग्थे बिहानहरू । थकानले सुस्ताएजस्ता मलीनमलीन नारी अनुहारहरू । फुङ्ग उडेका पहिरहन । हातमा पूजाका थाली लिएर पनि अशान्त बनेजस्ता । थाहा थिएन यी चिटिक्क परेका सुन्दर घरहरूभित्र केले सताउँछ भनेर । यहाँ धोबी, दर्जी, पसले, कामदारभन्दा पनि प्रोफेसर, साहित्यकार, पत्रकार, डाक्टर, इन्जिनियर, वकिल, सिपाही, नेता, अभिनेता, समाजसेवीको बसोबास छ । यस्ता गल्लीका नारी अनुहारहरूमा चमक नभेटिनु ! उदेक मान्थी ऊ ।
चौबाटो आयो । सही दिशा छान्नु छ । दिशाबोध गराउने कम्पास छैन उसँग । दाँयापट्ट िमोडिन्छे । एक आकृति जोडले ठोक्किन्छ । निथ्रुक्क भिजेकी छ । सास धावकको जस्तो बेतोडले बढेको छ । मधूरो उज्यालोमा रक्ताम्य अनुहार र लतपतिएको सिउँदो देखिन्छ । त्यो ज्यान जोगाउन भागेकी जस्ती छे ।
सरला त्यसको हात अँठ्याएर तान्छे ।
“बाटो यता छ । हामीले सिधा यही बाटो पछ्याउनु पर्छ । छाती निर्जीव बनाएर ।” सरला हिम्मत जुटाइदिन्छे ।
“ज्यँूदै जलाउन खोज्यो त्यो पापीले । झ्यालको सिसा फुटालेर त्यसकै कोठाछेउबाट भागेँ । स्वास्नीले आत्माहत्या गर्न लागी भनेर पुलिसलाई खबर गर्दै थियो त्यो । अब ज्यँूदै त्यसलाई जलाउने पालो मेरो । यो रात कटोस् ।” त्यो आगो जसरी दन्किन्छ बदलाभावले ।
सरला अगाडि बढिरही । प्रत्येक मोड, घुम्ती, दोबाटो अनि चौबाटाहरूमा एकपछि अर्को गर्दै विद्रोहहरू ठोकिन आई पुग्छन् । विद्रोहको लामो ताँती भइसक्यो । उसले सम्पूर्ण छरिएका विद्रोहहरूको नेतृत्व गर्नुछ । एकमुष्ट पारेर ठोसरूपमा रूपान्तरण गर्नुछ । हैकमवादलाई परास्त गरेर साझा समझदारीमा आत्मसम्मानको हक सुनिश्चित गर्नुपर्नेछ । धेरै छ गर्न ।
“त्यो बुद्धले त यतै हुन्छु भनेको थियो । यही गल्लीको उचाइमा । उचाइबाट गरेको शङ्खनादले पूरै धरातल गुञ्जिन्छ भनेर उसले यो उचाइ देखाइदिएको ।” सरलाको बुद्ध साक्षात् छैन त्यहाँ ।
अलमल्ल पर्छे । बुद्धले धोका दिन सक्दैन । बुद्ध भनेको धोका होइन विश्वास हो । शिवजीको जस्तो छल गर्दैन बुद्धले । दृढ छ ऊ । बुद्ध भेटिन्छ । आँखा मिच्छे र बिस्तारै नियाल्छे । उचाइको मध्यबिन्दुमा त्यो बुद्ध ध्यानमग्न छ । उही शान्त र शालीन । धैर्यको समुद्रभित्र उसरी नै पौडिरहेको । थोरै फरक भएछ । निधारमा थकानका धर्साहरू बसेछन् । हर्षविभोर ऊ पछाडि फर्किन्छे, सयौँ नारी विद्रोहको प्रतिनिधित्व छ ।
“मेरो बुद्ध भेटियो । बाँकी रहृयो महिला राष्ट्रपतिको कुरा । म राष्ट्रपति हुन विद्रोह गरेर निस्किएकी हुँ । हामी सबै अधिनायकवादका विद्रोही हाँै । उद्देश्य एउटै छ । हातेमालो गरौँ, संरचना बदलौँ ।” सरला विद्रोहको नेतृत्व गर्छे । प्रत्येक विद्रोही आवाज थप्छन्- ‘विद्रोहलाई अन्तिम बिन्दुमा पुर्याउन साथ छ ।’ आकाश गुञ्जिन्छ स्वरहरूले । रोलमोडल बुद्धको ध्यान भङ्ग हुन्छ । परपर एम्बुलेन्स र पुलिस भ्यानहरूका साइरनको कोकोहोलो सुनिन्छ
Rahul is offline
geeta is offline
kamal is offline
vishav is offline
Jhunnu is offline
Jamesmut is offline
abhay is offline
anonymous is offline
Abhay is offline
KRB is offline
Himanshu is offline
vikki is offline
anil is offline
sourabh is offline
manibhusan is offline
Please Login or Sign Up to write your book.