सधैं झैं आज पनि बिहानको नित्यकर्म सकेपछि स्वास्थ्यचौकीबाट मूल सडकतिर ओर्लिएर मायाको चिया पसलतिर लागेँ । स्वास्थ्य शिविरको लागि यहाँ आएको दोश्रो पटकदेखि नै उनको पसलमा गएर बिहानको चिया पिउने बानी परेको थियो । स्वास्थ्यचौकीबाट उनको पसल पुग्न करीब १२-१५ मिनेट हिँड्नु पर्ने हुँदा मलाई बिहानको कसरत पनि हुन्थ्यो । त्यसैले अरु साथीहरू नगएको बेलामा म एक्लै भए पनि जाने गर्थेँ ।
वरपरका सबैले मायाकी आमालाई जेठी भन्ने गरेकोले मैले पनि उनलाई जेठीदिदी भन्थेँ । जे-जस्ता समस्या र छिमेकीसँग तीतो-मीठो जे परे पनि म पुगेको हरेक समयमा जेठीदिदी हँसिलो मुहार सहित मीठो बोलीमा “बाबुलाई सञ्चै छ ?” भनेर सोध्थिन् र मीठो चिया बनाएर दिन्थिन् । उनको त्यो हँसिलो मुहार र काम गराइको फुर्ती देख्दा मलाई अचम्म लाग्थ्यो । यस्तो पीडा र कष्टकाबीच पनि यी जेठीदिदी आफूले काँडाको घोचाइ सहेर अरुलाई फूलको जस्तो मीठो मुस्कान बाँड्न कसरी सकेकी होलिन्, आफूले बिष पिएर पनि अरुलाई अमृतरुपी बचन प्रदान गर्ने शक्ति यिनमा कहाँबाट आयो होला जस्तो लाग्थ्यो ।
तर आज पसलमा पुगेपछि पहिलो पटक यिनैलाई मुर्झाएको देख्दा मेरो मन पनि खिन्न भयो र “के भो जेठीदिदी आज ?” भनेर सोध्दै आफू सधैं बस्ने गरेको ठाउँमा गएर बसेँ । सधैं यति बेलासम्ममा तरकारी, सेल, मासु, अचार र चिया समेत तयार गरेर पाउनाको स्वागतमा मीठो मुस्कान छर्दै बस्ने जेठीदिदीको अनुहार आज फुङ्ग उँडेको थियो भने उता चूलोमा दाउरा समेत जोडिएको थिएन । एकदम मलिन स्वरमा उनले “बाबुलाई चिया बनाउँ है ?” भनेर सोधिन् । म सधैं यहाँ चिया पिउन नै आउँथेँ र कहिल्यै पनि उनले मलाई चियाकोलागि सोध्नु पर्थेन । तर आज मलिन स्वरमा उनले सोधेको देख्दा मलाई लाग्यो आज यिनलाई पक्कै कुनै ठूलो चोट परेको छ र यी होश हराए झैं भएकी छिन् । मैले सान्त्वनाको स्वरमा “जेठीदिदी आज म चिया पिउँदिन, भो दुःख नगर्नुस्” भनेँ र “माया कता गइन् त खै ?” भनेर सोधेँ । मायाको नाम सुन्नासाथ उनी झन् निद्याउरो भएर रुन पो थालिन् । मैले आफ्नो शंका सायद यथार्थमा बदलिएछ भन्ने लख काटेँ । जेठीदिदी छेउमै बसेर गुनासो गर्न थालिन् “बाबु, मैले त्यसलाई कति दुःख कष्ट गरेर हुर्काएँ, अरुको कस्तो बचन सहेर ठूली बनाएँ र स्कूल समेत पठाएँ । अहिले ल हेर्नुस् त, मलाई एक बचन नसोधी, मैले भनेको नटेरेर त्यही तिले डाईबरसित पो हिँडिछ । बाबुलाई थाहै छ मैले जति दुःख गरेर भएपनि त्यसलाई हाईस्कूल पास गराएर गाउँकै स्कूलमा पढाउन सक्नेसम्म बनाउँछु भनेकी थिएँ । तर आज त्यस्ले मेरो मुटु टुक्रा पारेर गई बाबु । मेरो जस्तो कष्ट त्यस्लाई खप्न नपरोस् भनेर सधैं आफैं खटेर भगवानसँग त्यस्को जिन्दगी राम्रो होस् भनेर प्रार्थना गरेँ । जे नहोस् भनेर चिताएको थिएँ, त्यही भयो । त्यो तिलेको घर ठेगान केही छैन रे । अब म के गरुँ बाबु ?” यति भन्दै उनी रुन लागिन् । जीवनमा अनेक दुःख कष्ट ब्यहोरेकी र खपेकी यिनलाई म भर्खरको युवाले के सम्झाउन सक्थेँ र । तैपनि ढाढस दिनको लागि “दिदी के गर्ने, आफ्नो भाग्यमा जे लेखिएको छ त्यही नै परि परि आउँछ, कसैले टार्न सक्दैन । अब चिन्ता लिएर बसेर मात्रै के हुन्छ र । हामीले त अब उसको भविष्य राम्रो होस् भनेर आशीक दिने, सकेको सहयोग गर्ने न हो । चिन्ता नलिनुस् दिदी, तपाईंको दुःखी जीवनमा अर्को एउटा दुःख थपियो, त्यत्ति सोच्नुस् र मलाई मीठो चिया बनाएर दिनुस्” भनेँ । मेरा कुराले मन केही हल्का भएछ क्यारे, उनी उठेर चूलोमा आगो जोरिन् र चियाको कित्ली बसालिन् ।
आफ्नो पढाइ सकेर काठमाडौंको नर्सिङ्होममा डाक्टरको जागीर गर्न थालेपछि हामी ४–५ जना सहपाठीहरू मिलेर जागीरसँगै समाज सेवा पनि गर्ने उद्देश्यले एउटा संस्था खोलेका थियौँ । प्रायः ४–५ महिनाको अन्तरमा उपत्यका नजीकैको गाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर केही मात्रामा गाउँलेहरूलाई सहयोग गर्ने क्रम शुरुगरेका थियौँ । त्यही शिलशिलामा अलि परकै गाउँसम्म सेवा पुर्याउने उद्देश्यले करीब २ बर्ष अघि स्थानीय पक्की सडकले छोए पनि स्वास्थ्य सेवा नपुगेको यस गाउँमा हामी आएका थियौँ । गाउँलेहरूको सहृदयता, यो ठाउँको रमणियता र यहाँको आवश्यकताले गर्दा हामी यहाँ २–३ पटक नै आएर हरेक पटक २ हप्ता जति बस्ने गरेका थियौँ । गत बर्ष मात्रै अन्य गैर सरकारी संस्था र गाउँलेहरूको सहयोग लिएर यहाँ एउटा सानो स्वास्थ्यचौकी स्थापना गरी गाउँलेहरूलाई केही बढी सुविधा प्रदान गर्न सफल भएका थियौँ । त्यही शिलशिलामा नै हाम्रो दोश्रो पटकको कार्यक्रम पछि नै सडक छेउको जेठीदिदीको यो पसलमा म हरेक बिहान आउने गरेको थिएँ ।
यी जेठीदिदी एक्लै थिइन् र आफूले कष्ट गरेर भए पनि छोरी मायालाई डेढ-दुई घण्टा परको स्कूलमा पढ्न पठाएकी थिइन् । शुरुमा यहाँ आएदेखी नै यिनको बोलीचाली र सहृदयताले मलाई तानेको थियो र हरेक बिहान चिया पिउँदै यिनका बिगतका तीता मीठा कहानीहरू दङ्ग पर्दै सुन्ने गर्थेँ । यिनी आफ्नो गाउँको हुनेखाने गनिएको घरकी एक्ली छोरी थिइन् । गाउँका ठूला ठालू भएपनि यिनका बाबु सहयोगी र सहृदयी भएकाले सबैका मान्य थिए । त्यसैले यिनी गाउँले सबैको हाई हाई मै हुर्केकी थिइन् । सबैले यिनलाई माया गरेर फूलमाया मैयाँ भनेर बोलाउने गर्थे । गाउँमा स्कूल नभए पनि बाबुले यिनलाई घरमै अलि अलि पढाएर चिठी लेख्नसम्म सक्ने बनाएका थिए । सबैको हाई हाई मै हुर्केकीले यिनलाई आवश्यकताभन्दा बढी नै उत्ताउलोपनाले छोएको थियो र नजानिदो रुपमा लुकिछिपी गाउँकै हर्केलाई आफ्नो लाली जोवन सुम्पेकी थिइन् । हर्के गाउँको गरीब परिवारमा हुर्केको भए पनि सानैमा घरबाट भागेर बजारतिर गई बरालिँदै बसेको थियो । पछि कताबाट हो गाडीवालाहरूको सङ्गतमा परेर आफूले पनि साहुको गाडी चलाउने भएछ र थोरै तिनै पैसा कमाएर हरेक पटक ४-५ महिनामा गाउँमा आउँदा लाहुरे झैं ठाँटिएर हिँड्ने गर्थ्यो । उसकै अनेक मीठा गफ र लोभ लालचमा फसिन् यी बिचरी फूलमाया । बाबुले सहरमा पढेर उतै राम्रो जागीर गर्ने पल्लो गाउँको मुखियाको छोरासँग यिनको बिहेको कुरा चलाएका थिए । तर यिनलाई किन किन हर्केको देखावटी पिरतीले नै बढी तान्यो र कसैलाई थाहा नदिई एक दिन सुटुक्क हर्केसँग भागेर यो सानो बजारमा आईपुगिन् र फूलमायाबाट जेठी भइन् ।
यहाँ हर्केको एउटा सानो कोठा बाहेक अरु केही थिएन । उसको डाइबरी पेशाले सबै धान्न गारो हुने भएकोले साहुसँग ऋण मागेरै भए पनि जेठीले चियाको सानो दोकान खोलिन् र त्यसमै मिहिनेत गर्न थालिन् । सुरुमा त हर्केले निकै माया पिरतीका कुरा गर्थ्यो, गाडी लिएर टाढा पुगे पनि २–३ दिनमा जसरी पनि फर्कने गर्थ्यो । तर बिस्तारै उसलाई अझ टाढा जानुपर्ने भयो र प्रायः हप्ता दश दिनमा मात्रै फर्कने गर्न थाल्यो । कहिले कहिँ त एक महिनामा बल्ल एक पटक आउने गर्थ्यो । तैपनि उसले जेठीलाई उत्तिकै माया गर्थ्यो र कमाएको पैसा पनि सबै ल्याएर दिन्थ्यो । उता हर्केले गाडीबाट पनि राम्रै आम्दानी गर्दै थियो र यता पसलबाट पनि राम्रो आम्दानी भएको थियो । अब उनीहरूको आफ्नै सानो घर बनेको थियो र त्यहीँ अलि ब्यवस्थित पसल चलाएकी थिइन् जेठीले । यसरी मिहिनेत अनुसार जेठीको जिन्दगी राम्रै बित्न थालेको थियो ।
तर माया जन्मेपछि भने हर्केको घरमा आउने क्रम पनि कम हुँदै गयो र जेठीलाई त्यति पैसा पनि दिन छोड्यो । “पसलकै आम्दानी छँदैछ, आजकाल गाडीमा त्यति कमाउन सकिएन” भन्ने र यस्तै अरु बहाना बनाएर हर्केले जेठीलाई सहयोग गर्नै छोड्यो । छोरी समेत भएपछि जेठीलाई पसलमा धेरै खट्न पनि गारो भएको थियो र आम्दानी घट्ने तर खर्च बढ्ने भएको थियो । उता हर्के भने अब केबल ४-५ महिनामा एक पटक आउने र उल्टै जेठीसँग पैसा माग्ने गर्नथाल्यो । पछि बुझ्दै जाँदा उसले कान्छी ल्याएर अर्कै ठाउँमा राखेको थाहा पाइन् जेठीले । त्यसपछि उनका दुःखका दिन सुरु भए ।
छिमेकीले पनि उनलाई नराम्रो ब्यवहार गर्न थाले र पसलमा ग्राहक पनि घट्न थाले । जेठीलाई अब बिहान बेलुकीको छाक टार्न समेत गारो भयो । सानी छोरी च्यापेर भएपनि पसल राम्ररी नचलेको मौसममा यिनले गाउँलेहरूसँगै मेलापात समेत गर्न थालिन् । आफ्नो भाग्य यस्तै रहेछ भनेर चित्त बुझाउँदै आफूले जति कष्ट गरेर भए पनि छोरीलाई हुर्काइन् र स्कूलमा समेत पठाइन् । माया स्कूल जाने भएपछि यिनले अझ बढी कष्ट गर्नु पर्यो । तर भगवानले यिनको दुःख देखेछन् क्यारे बिस्तारै पसलबाट आम्दानी बढ्न थाल्यो र यिनी फेरि पसलमै व्यस्त भइन् र त्यही आम्दानीले गर्जो टार्न सक्ने भइन् । हर्के पनि यसो ६–७ महिनामा एकपटक झुल्किने र छोरीलाई भनेर हरेक पटक एक दुई हजार दिने गर्नथाल्यो । त्यसपछि यिनले बल्ल फेरि ढुक्कको शास फेर्न पाएकी थिइन् ।
आफ्नो जस्तो दुःख कष्ट छोरीलाई नपरोस् भनेर आफूले जती कष्ट गर्नु परे पनि मायालाई हाईस्कूलसम्म पढाएर आफ्नै खुट्टामा उभिनसक्ने बनाउन उनी तल्लीन थिइन् । मायालाई आफूले गरेको गल्ती तथा दुःखकष्टका कहानी सुनाएर सधैं सजग गराइरहन्थिन् । तर माया भने आमाको कुरा एउटा कानले सुनेर अर्को कानले उडाउने गर्थी । उसको साथी सङ्गत पनि त्यस्तै भएकाले ऊ उत्ताउली पाराकी बन्दै गएकी थिई । दिउसो स्कूल गएपनि बिहान बेलुका ऊ पसलमै हुन्थी र त्यहाँका मुख्य ग्राहक स्थानीय गाडीवालाहरूसँग उसको सङ्गत हुन्थ्यो । जेठीले उसलाई आफ्नै कोठामा गएर पढ् भन्दा पनि ऊ पसलमै आउन र ग्राहकहरूसँग जिस्किन मन पराउँथी । मायाको यो ब्यवहारले जेठीलाई झन् शंका र पीर थपेको थियो र आफ्नो जस्तो हालत उसको नहोस् भनेर सक्दो सचेत भएकी थिइन् ।
मैले पनि मायालाई बेलाबेलामा पढाइमै बढी ध्यान दिन सम्झाउथेँ । तर ऊ भने झर्कंदै उल्टै मलाई गाली गर्थी । “कस्तो यो दाइ त, आफू पनि नजिस्किने अरुसँग पनि जिस्किन नदिने” भनेर मनका कुरा ठाडै बाहिर पोख्थी । म उसलाई आफ्नै पाराले सम्झाउन कोशिष गर्थेँ “हेर माया, यो सबै मैले तिम्रो राम्रो भविष्यको लागि भनेको हो । म त तिमीलाई बैनी भन्छु, बैनीसँग मैले त्यसरी छिल्लिएर जिस्किन सुहाउँदैन । अझ तिमी मान्छ्यौ भने त म तिमीलाई शहर लगेर धेरै पढाउन र उतै राम्रो ठाउँमा बिहे गरिदिन तयार छु ।” तर मेरा कुरा उसलाई बिष जस्तो हुन्थ्यो र उल्टै चर्को डाँकोमा मलाई हप्काएझैं ऊ भन्थी “पर्या छैन कसैको बैनी-सैनी हुन । बैनी त मलाई तिले डाइबरले नि भन्छ नि ! तर ऊ कस्तरी जिस्किएर मीठा कुरा गर्छ ।” यी सोझी केटीलाई के थाहा कि शब्द एकै भएपनि मैले भन्ने बैनी र तिलेले भन्ने बैनी बीचको भावनात्मक अर्थ, सम्बन्ध र उद्देश्यमा कति फरक छ । मैले अझ राम्ररी अर्थ्याउन खोज्दा ऊ झर्केर ठाडै भन्थी “भगाएर लैजाने हो भने जान्छु, तर बैनी-सैनी बन्न त जान्न ।” आफ्नो कुरकुरे बैंशको भावनालाई यसरी उत्ताउलोपनमा छरपष्ट पार्थी ऊ । सायद भर्खर उत्ताउलो बैंशले छोएकोले र अरुको बनावटी मीठा गफ र अनावश्यक लोभ लालचले पनि होला यिनको कलिलो दिमागमा नराम्रो छाप छाडेको थियो । त्यही सङ्गतले गर्दा यिनलाई अभिभावकत्वको शितल छायाँ रुपी हातले अङ्गालेर उज्ज्वल भविष्यतिर लम्किने चाहनाभन्दा पनि बनावटी माया पिरतीको निष्ठूर अङ्गालोमा मसक्क कस्सिएर अन्जान भविष्यको काल्पनिक मीठासपूर्ण खाडलमा हामफाल्ने तिर्सना बढी थियो । त्यसैले एक दूई पटकको प्रयासपछि मैले यिनलाई सम्झाउन छोडेको थिएँ ।
आज तीनै शंका उपशंका सच्चाइमा बदलिएको थाहा पाएर मलाई त्यति सारो अचम्म लागेन । तर यी जेठीदिदीको हालत देखेर भने सारै नरमाइलो लाग्यो । चिया पिइसकेर यिनलाई फेरि एकपटक सम्झाएँ र मनमनै अब फेरि पनि जेठी र मायाको जीवनको पूनरावृत्ति नहोस् भन्ने कामना गर्दै स्वास्थ्यचौकीतिर उकालो लागेँ । हेमनाथ घिमिरे
Donna is offline
KRB is offline
Himanshu is offline
Abhay is offline
anonymous is offline
abhay is offline
Jack is offline
Jhunnu is offline
kamal is offline
geeta is offline
Jamesmut is offline
Munna is offline
Dileep is offline
bharat is offline
Laden is offline
Please Login or Sign Up to write your book.