मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा।
“दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।”ऊ सानै थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको नौलो ब्रह्माण्डको सफर ।
“प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरिन्छ र?”निधारबाट तल झरेर आँखा छोप्न आइपुगेका कपाललाई पन्छाउँदै उसले भनी । म मौन रहेँ ।
“त्यो हरि भन्छ प्रेम एउटा खेल हो र उसले कुनै पनि खेलमा हार्न जानेको छैन । के प्रेम साँच्चै एउटा खेल हो त राज?”
मसँग मौनता बाहेक उसको प्रश्नको लागि अर्को उपयुक्त उत्तर नै थिएन ।
“तर म मान्दिन । म प्रमाणित गरिदिन्छु प्रेम हिसाब गरेर बस्दैन । यो खेल हैन । मलाई सहयोग गर है राज ।”
यो पल्ट मैले मुख खोलेँ – ‘हुन्छ ।’
उ भन्दै गई । मै लेख्दै गएँ प्रेमपत्र, उसैको लागि ।म त्यति धेरै अबोध त पक्कै थिइन तर उसको मीठो प्रस्ताव नकार्ने साहस भएन । यसरी लेखियो जिन्दगीको प्रथम प्रेमपत्र । मीठो भूल गरे, सायद जानाजानी ।
त्यसको केही समय पछि मैले आफ्नै शब्दहरू गुँथेर प्रेमपत्र लेखेँ तर अरूकै लागि । म लेखनदास, तमसुक होइन प्रेमपत्र लेख्दै छु अनि काम चाहीँ हुँदैछ अरू कसैको ।
भर्खरै जस्तो लाग्छ हरि र निरुको बिहेभोज खाएको । जुनदिन पछि प्रेमपत्र लेख्ने आवश्यक्ता नै रहेन । कति लामो समय बितिसकेछ । कस्तो होशै भएन ।
***
“के नचाहिँदो कुरा गरेको । दिनभरि घरमा झोक्राएर बसिरहछौ अनि आउँछन् यस्ता उट्पट्याङ विचारहरू। कति चोटी भनिसकेँ मसँग भजनमण्डीमा हिँड भनेर ।”
रिसाउँदा हरिले आँखीभौँ माथि उचाल्छ अनि यस्तो लाग्छ उसको चाउरी परेका गालाहरूको मुजा सोहोरिएर उसको निधारमा आइपुगेको होस् । ओठहरू खुल्दै बन्द हुँदा भित्रबाट चिहाउदै गरेको उजाड प्रदेशमा ठडिएको स्तम्भ झैँ लाग्ने उसको एक्लो दाँतलाई देख्दा अरू बेला त मलाई निकै हाँसउठ्थ्यो । तर अहिले मलाई अरू नै कुराले पिरिरहेको छ ।
‘होइन, मैले प्रेमपत्र लेखेकै छैन !’
“ए बुढा फुस्क्यौ कि क्या हो, नातिनिले सुनी भने के भन्ली ?”
‘होइन हरि मैले बिर्सेछु । यत्तिका वर्ष बिते, प्रेमपत्र लेख्नै बिर्सेँछु ।’
“अनि भाउजुलाई कसरी फसायौ त ?”
‘फोनबाट । पत्रको आवस्यकता नै परेन । मेरो प्रेमको प्रमाण केही छैन हरि ।’
“तिमी पनि बेला-बेला अचम्मकै कुरा गर्छौ ।”
‘हैन हरि मैले साँच्चै बिर्सेँछु ।’
अब सायद हरिलाई मैले ठट्टा गरेको हैन भन्ने थाहाभयो ।
“राज म तिम्रो कुरा बुझ्छु । तिमीलाई भाउजुको सम्झना आयो । मेरो पनि त त्यस्तै छ । के गर्नु जीवन यस्तै हो । आए पछि सबैले…”
‘भो भो हरि यो भन्दा बढी नबोल । मैले जीवनमृत्युको कुरा गरेको हैन । तिम्री भाउजु मेरो मुटुभित्र छे । मलाई दु:ख त उसलाई प्रेमपत्र लेख्न नपाएको मा छ । जिन्दगीले बडो नराम्रोसँग नचायो । अहिले यो ठाउँमा उभिएर हेर्दा यात्रा त जहाँबाट सुरू गरेँ त्यहीँ पो आइपुगेछ । एक्लै थिएँ तिम्री भाउजु अगाडि, एक्लै नै छु ऊ गएपछि पनि । सोचेको थिएँ उसलाई प्रेमपत्र लेख्छु र पोस्ट गर्छु उसलाई पत्तै नदिई । तर हरी …’
“हजुरबुवा कविता लेखिदिनु भयो ।”
‘मेरी प्यारी नातिनीले भनेपछि लेख्दिन त !’
“अब त म फेरि प्रतियोगितामा फस्ट हुने भएँ ।”
मेघना कविता लिएर ढोकातिर गई । ढोका छेउमा पुगेर केही छिन अडिई र फर्केर म छेउ आई ।
“हजुरबुवा एउटा कुरा भन्छु नरिसाउनुस् है !”उसले आँखा चिम्लिएकी थिई । उसको कपाल निधारबाट तल झरेर आँखासम्म आइपुगेको थियो ।
“हजुरबुवा मलाई एउटा चिठी लेखिदिनुस् न !”
‘कस्तो चिठी नानु ?’
उ केही भन्न खोज्छे तर आवाज निस्कँदैन ।
‘प्रेमपत्र हो ?’
उ छक्क पर्छे, थोरै लजाउँछे, अनि बिस्तारै टाउको हल्लाएर हो भन्ने इसारा गर्छे ।म खुसी हुन्छु । उसको टाउको प्रेमपूर्वक मुसार्छु ।
‘आऊ यहीँ नजिकै बस । भन को हो त्यो भाग्यमानी जसलाई मेरी राजकुमारीले प्रेमपत्र लेख्न खोज्दै छे ?’
“रोहित ।”
प्रिय रोहित,मेरा दिनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् ।तिम्रो मीठो सम्झना शीतल पवन बनेर पत्र-पत्र छुँदै …
“भजनमण्डलीकी कुनै बुढी फसाएनौ ? प्रेमपत्र लेख्नु छ भने भन है !”मेरो कुरा सुनेर हरि अवाक हुन्छ । उसको मुख खुलेको छ । उसको सान धानिरहेको एक्लो स्तम्भ पनि ढलेछ। म खित्का छोडेर हाँस्न पुग्छु ।
Mahipal is online
Shivansh is online
rehan is online
gulab is online
arun is online
Musab is offline
Laden is offline
Jamesmut is offline
Dileep is offline
Munna is offline
geeta is offline
kamal is offline
Jhunnu is offline
Jack is offline
abhay is offline
Please Login or Sign Up to write your book.